दमक , मंसिर ६ । आम्दा अस्पतालका स्वास्थ्यकर्मीले गलत औषधि दिँदा गर्भवती महिलाको मृत्यु भएको आरोप लगाएका मृतक परिवारले किरिया खर्चवापत दुई लाख रुपैयाँ पाउने भएका छन् ।

स्वास्थ्यकर्मीका कारण मृत्यु भएको भन्दै मृतक परिवारले लाश नउठाएपछि आज भएको छलफलमा मृतकको काजकिरिया गर्न अस्पतालका कर्मचारीहरुको एक दिनको तलब बराबर दुई लाख रुपैयाँ दिने सहमति भएको हो । त्यस्तै मृतकका छोरा प्रथम शंकरलाई कक्षा १० सम्म निशुल्क पठनपाठन गराउनका लागि दमक , कनकाई र पथरी शनिश्चरे नगरपालिकाले व्यवस्था गर्ने , उच्च शिक्षाका लागि दमक नगरपालिका र आम्दा अस्पतालले खर्चको व्यवस्थापन गर्नेलगायतका सहमति भएको छलफलमा सहभागी नेकपाका शंकर बस्नेतले बताए । छलफलमा दमक नगपालिकाका प्रमुख रोमनाथ ओली , कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल , पथरी शनिश्चरे नगरपालिकाका प्रमुख दिलिप राईलगायतको उपस्थिति रहेको थियो । हिजो बेलुका भएको छलफलमा सहमति नभएपछि आज फेरि छलफल राखिएको थियो । हिजो साँझ सामान्य टाउको दुखेर दमकको आम्दा अस्पताल ल्याइएकी मोरङ शनिश्चरे १ की ३४ वर्षिया मनिता नेपालीको ल्याएको केहीबेरमै मृत्यु भएको थियो । टाउको दुख्यो भनेपछि उनलाई श्रीमान् प्रकाश शंकरले पैदल ल्याएर आम्दा अस्पतालको आकस्मिक कक्षमा हिजो साँझ ७.३० बजे भर्ना गरेका थिए । आकस्मिक कक्षका चिकित्सकले औषधि लेखिदिएर विरामीका श्रीमान् प्रकाशले लिन जान खोज्दा नर्सले रोेकेर अस्पतालमै भएको औषधि चलाएको १० मिनेटमै विरामीको मृत्यु भएको जनाइएको छ । मृतक महिला ८ महिनाको गर्भवती थिइन् । उनको गर्भमा जुम्ल्याहा बच्चा रहेको थियो । उनले आम्दा अस्पतालमै नियमित चेकजाँच गराउँदै आएकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्