बिर्तामोड, फागुन १६ । युवा तथा खेलकुद मन्त्रालयले झापा टुडे डटकमका सम्पादक हिमाल खरेलसहित ९ जना खेल पत्रकारलाई पुरस्कृत तथा सम्मान गरेको छ ।

मन्त्रालयमा आइतबार आयोजित एक कार्यक्रमका बीच खरेलसहित देशभरका ९जना खेल पत्रकारलाई खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान र खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरिएको हो ।
मन्त्रालयले खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान बाँकेका कमल खत्रीलाई प्रदान गरेको छ । पुरस्कारको राशि ५० हजार नगद र प्रमाणपत्र रहेको छ । त्यस्तै, खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार (दलित, महिलातर्फ) दोलखाकी मुना कार्कीलाई प्रदान गरियो । पुरस्कारको राशि २५ हजार नगद र प्रमाणपत्र रहेको छ ।

प्रदेश १ बाट छनोट भएका खरेललाई पनि खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरियो । उनी नेपाल खेलकुद पत्रकार मञ्च झापाका अध्यक्ष हुन् । उनी विगत १७ वर्षदेखि पत्रकारिता गर्दै आएका छन् । खरेल हाम्रो खेलकुद डटकमका सम्वाददाता पनि हुन् । त्यस्तै, खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदेश २ बाट महोत्तरीका रञ्जनकुमार भण्डारी, बाग्मती प्रदेशबाट काठमाडौँका अनिल मल्ल ठकुरी, गण्डकी प्रदेशबाट पाल्पाका माधवप्रसाद अर्याल, लुम्बिनी प्रदेशबाट दाङका मुक्तिबाबु रेग्मी, कर्णाली प्रदेशबाट जुम्लाका भूपेश उपाध्याय र सुदूरपश्चिम प्रदेशबाट डोटीका सीताराम ओझालाई प्रदान गरिएको छ । पुरस्कारको राशि २५ हजार नगद र प्रमाणपत्र रहेको छ ।
युवा तथा खेलकुदमन्त्री दावा तामाङ, मन्त्रालयका सचिव केदार न्यौपाने, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष देवेन्द्र सुवेदीलगायतले उनीहरुलाई सम्मान तथा पुरस्कृत गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्