बाहुण्डाँगी, फागुन १९ । पुजन राईको निर्णायक गोलसँगै आयोजक नवज्योति युवा क्लब बाहुण्डाँगीमा जारी नवज्योति नकाउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधवार नवज्योति निमाविको खेल मैदानमा सम्पन्न पहिलो सेमिफाइनल खेलमा विभागीय टिम सशस्त्र प्रहरी बल पकलीलाई १–० को गोल अन्तरले हराउँदै आयोजकले आफ्नो अपराजित यात्रालाई कायम राखेको हो । पुजनले खेलको दोस्रो मिनेटमै गोल गरेका थिए । योसँगै शनिवार हुने फाइनल खेलको यात्रा निश्चित गरेको छ । खेलको म्यान अफ द म्याच आयोजकका करण थापा मगर भए । यसैगरी पहिलो गोलकर्ता पुजन राईलाई क्लबका उपाध्यक्ष सुमन थापाले सौजन्य गरेको नगद पुरस्कार प्रदान गरिएको थियो ।
मुनाल क्लब चन्द्रगढीलाई हराउँदै आयोजकले सेमीफाइनल प्रवेश गरेको थियो भने कनकाई सुरुङ्गालाई हराउँदै सशस्त्र प्रहरी बल सेमिफाइनलमा पुगेको थियो ।
बिहीवारको दोस्रो सेमिफाइनल खेल धाइजन चारआली युवा क्लब र श्रीनाथ गण चारआलीबीच हुने आयोजक समितिका राजेश थापाले बताए ।
फाइनल खेलको विजेताले नगद ८० हजार तथा उपविजेता टिमले नगद ५० हजार ट्रफी र प्रमाणपत्र पाउने क्लबका अध्यक्ष चन्द्र तामाङले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्