बिर्तामोड , चैत २२ । बुट्टाबारी युनाइटेड क्लब बिर्तामाडको आयोजनामा प्रथम झापा जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

Advertisement

यही चैत २६ देखि बैशाख २ गतेसम्म बिर्तामोड ६ स्थित हरियाली सामुदायिक वनको खेलमैदानमा सो प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा आयोजकसहित मनास्लु युवा क्लब, काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर , इलाभेन साइनिङ स्टार , सैनिक युथ क्लब , जलथल फुटबल क्लब ,बिर्तामोड युनाइटेड क्लब र शिवसताक्षी फुटबल क्लब गरी ८ टीमको सहभागिता रहने आयोजक क्लबले आइतवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

प्रतियोगिताका विजेता टीमलाई ५५ हजार ५५५ नगदसहित आकर्षक शिल्ड र उपविजेता टीमलाई ३३ हजार ३३३ रुपैयाँ नगद र शिल्डको व्यवस्था गरिएको क्लबका अध्यक्ष हिमाल कन्दङ्वाले बताए ।उनले प्रत्येक दिन म्यान अफ द म्याच घोषणा गरी २ हजार नगद पुरस्कार प्रदान गरिने जानकारी दिए । त्यस्तै समापनमा बेष्ट कोच , बेष्ट प्लेयर , बेष्ट गोलकिपर , हाइस्कोरर र वेष्ट मिडफिल्डरको घोषणा गरी ५ हजार रुपैयाँका दरले पुरस्कृत गरिने समेत जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । ‘युवा जागरुकता आजको आबश्यकता’ भन्ने नारा दिइएको सो प्रतियोगिताको उद्धेश्य स्थानीय क्षेत्रबाट खेल जगतलाई प्रोत्साहन गरी युवा खेलाडीहरुमा थप हौसला र प्रेरणा दिने रहेको अध्यक्ष कन्दङ्वाले बताए । बिर्तामोड नगरपालिका वडा नं ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रतियोगिताको उद्धेश्यबारे आयोजक क्लबका उपाध्यक्ष सन्तोषकुमार विष्टले प्रकाश पारेका थिए । क्लबका सल्लाहकारहरु बसन्त राई, जगतकुमार राई , चन्द्रकुमार गुरुङलगायतको उपस्थिति रहेको कार्यक्रमको संचालन सचिव धनसरी राईले गरेकी थिइन् । २०७५ सालमा बुट्टाबारी युनाइटेड क्लब स्थापना भएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्