बिर्तामोड , चैत २२ । बिर्तामोडस्थित गाउँले होटलका संचालक तिलक निरौलाको हत्या भएको छ ।
उनको शव मेचीनगर १२ स्थित प्रगति सामुदायिक वन चारआली जंगलमा आइतवार विहान फेला परेको हो । दुई दिनदेखि बेपत्ता रहेका ५० वर्षिय निरौलाको मे ९ प २२०९ मोटरसाइकल जंगलमा भेटिएपछि खोज्दै जाँदा पूर्वपश्चिम राजमार्गदेखि करिव सय मिटर उत्तर जंगलमा उतानो परेको अबस्थामा उनको लाश फेला परेको थियो । कसैले हत्या गरेर जंगलमा लगेर फ्याकेको हुनसक्ने आशंका गरिएको छ । शरीरमा चोट देखिएपनि कुन हतियार प्रहार गरेको भनेर प्रहरीले खुलाएको छैन । लाश भेटिएपछि प्रहरीले घटनास्थल सिल गरेको थियो । संघीय प्रहरी कार्यालयबाट शिकारी कुकुर झिकाएर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए । उनले लाशलाई पोष्टमार्टमको लागि वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जानकारी दिए ।
यसैबीच प्रहरीले घटनामा संलग्न भएको आशंकामा दुईजनालाई नियन्त्रणमा लिएको छ । घटनामा संलग्न भएको आशंकामा सोधपुछका लागि दुईजनालाई नियन्त्रणमा लिइएको प्रवक्ता थापाले बताए । उनीहरुको नाम खुलाइएको छैन । आफूहरुले यस घटनालाई गंभीरताका साथ लिएको बताउँदै घटनामा संलग्न व्यक्ति चाँडै नै पक्राउ पर्ने जानकारी दिए ।
सामान्य काम छ भनी मोटरसाइकल लिएर उनी घरबाट हिडेको र त्यसपछि बेपत्ता भएर लाश फेला परेको परिवारले जनाएको छ । चारआली जंगलमा यसअघि पनि धेरै हत्याका घटना भएका थिए ।
हत्यारालाई पत्ता लगाएर नेपालको कानुन बमोजिम आजिवन कारावासको सजाय दिलाईनु पर्छ।