बिर्तामोड , बैशाख १८ । बिर्तामोड नगरपालिकामा ६ हजार बढी मतले निर्वाचन जित्ने गठबन्धनका मेयर र उपमेयरका उम्मेदवारहरुले दावी गरेका छन् ।

गत निर्वाचनमा प्राप्त मतपरिणामलाई आधार मानेर अहिलेको माहौलले गठबन्धनको जित सुनिश्चित भएको उनीहरुले दावी गरेका हुन् । चुनावी घरदैलोका क्रममा बिर्तामोड ३ स्थित बुद्धपार्क (गोसलाइन)मा आयोजित कोणसभालाई संबोधन गर्दै गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका मेयरका प्रत्यासी नेपाली कांग्रेसका भोजराज सिटौला र उपमेयरका प्रत्यासी नेकपा माओवादी केन्द्रका सीपी कडरियाले जित सुनिश्चित देखेर विपक्षी नेकपा एमालेले विभिन्न भ्रम फैलाउँदै गठबन्धनलाई भाँड्न खोजेको आरोप लगाएका छन् ।

कार्यक्रममा बोल्दै मेयरका उम्मेदवार सिटौलाले आफूहरुको जित सुनिश्चित देखेर एमालेले विभिन्न प्रोपोगान्डा मच्चाउन खोजेको आरोप लगाए ।उनले त्यसप्रति सचेत रहँदै खबरदारी गर्न आममतदाता र कार्यकर्ताहरुलाई आग्रह गरे । गत निर्वाचनमा एमालेले मेयरमा ९ हजार १ सय १० मत प्राप्त गर्दा कांग्रेसले ८ हजार २ सय १७ मत पाएको थियो भने राप्रपाले ६ हजार १ सय ७० मत हासिल गर्दा माओवादीले ३ हजार ७ सय ९७ मत प्राप्त गरेको थियो ।

त्यस्तै उपमेयरमा एमालेले १० हजार ४ सय ३७ मत ल्याउँदा कांग्रेसले ९ हजार ११ मत प्राप्त गरेको थियो । त्यस्तै राप्रपाले ३ हजार ८ सय ७६ मत प्राप्त गर्दा माओवादीले ३ हजार ८ सय ७६ मत पाएको थियो । निर्वाचन जित्न यो गठबन्धन काफी भएको उपमेयरका उम्मेदवार कडरियाले बताए ।‘हामी ५–६ हजार मतान्तरले अगाडि छौं’ उनले भने,‘यतिले मात्र पुग्दैन हाम्रो शक्तिलाई अझै संगठित र सुरक्षित गर्नुपर्छ । उनले गठबन्धनका सबै उम्मेदवारहरु योग्य भएकाले नगरको विकासमा आफूहरुको टीमले अहिलेको भन्दा बीस गुणा बढी काम गरेर देखाउने दावी गरे ।

वेदप्रकाश न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा निर्वाचन परिचालन मूल समितिका सहसंयोजक युवराज दाहाल , बिर्तामोड ३ का वडा अध्यक्षका उम्मेदवार प्रेमप्रसाद उप्रेती, वडा सदस्यकी उम्मेदवार जानुका थापा मगरलगायतले बोलेका थिए ।

कार्यक्रममा निर्वाचन परिचालन मूल समितिका संयोजक लक्ष्मी आचार्य ,कांग्रेसका प्रदेश सदस्य मीरा खड्का, माओवादी केन्द्रका सहइन्चार्ज ज्योतिसिंह दर्लामीलगायतको उपस्थिति रहेको थियो । बिर्तामोड ३ मा गठबन्धनका तर्फबाट वडाध्यक्षमा प्रेमप्रसाद उप्रेती , सदस्यमा पूर्णप्रसाद राजवंशी ,संजय शर्मा ,जानुका थापा मगर र विष्णुमाया विकले उम्मेदवारी दिएका छन् । आइतबार नै बिर्तामोड ३ को सैनिकमोडमा पनि गठबन्धनले कोणसभा गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्