बिर्तामोड, बैशाख १८ । श्रमजीवि मजदुरहरुको हक अधिकारका लागि गठबन्धनका उम्मेदवारहरुले आफूहरु प्रतिबद्ध रहेको बताएका छन् ।

१३३औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गठबन्धनका उम्मेदवारहरुले मजदुरहरुको हक स्थापित गर्न लागिपर्ने प्रतिवद्धता ब्यक्त गरेका हुन् । आइतबार अखिल नेपाल ट्रेड युनियन महासंघ झापा र अखिल नेपाल ढुवानी मजदुर संघको संयुक्त आयोजनामा बिर्तामोडमा आयोजित कार्यक्रममा बोल्दै संयुक्त गठबन्धनको तर्फबाट बिर्तामोड नगरपालिकाका नगर प्रमुख पदका उम्मेद्वार भोजराज सिटौलाले आफ्नो हक हितका लागि मजदुरहरुलाई लडिरहन आग्रह गरे । निरन्तरको संघर्षले मात्र अधिकार सुनिश्चित हुने उनको भनाई थियो । उनले नेकपा माओवादीले मजदुरको अधिकार स्थापित गराउन खेलेको भूमिकाको प्रशंसा गरे । मई दिवस विश्वभरका मजदुरहरुको पर्व भएको भन्दै उनले शुभकामना ब्यक्त गरे ।

संयुक्त गठबन्धनको तर्फबाट बिर्तामोड नगरपालिकाको उपप्रमुख पदका उम्मेद्वार चन्द्रप्रसाद (सिपी) कडरियाले योगदानमा आधारित मजदुरको सामाजिक सुरक्षाको ग्यारेन्टी गर्नु पर्ने र मजदुरको ढाड सेक्नेगरी ल्याइएको श्रम ऐनको खारेज गर्नुपर्ने माग गरे । गठबन्धनको सरकारले स्थानीय तहमा विजय प्राप्त गरे मजदुरको हकहितमा आफूलेहरुले काम गर्ने उनले प्रतिज्ञा गरे । कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश १ का इन्चार्ज भुपाल सापकोटाले राज्यको हरेक क्षेत्रमा मजदुरको योगदान भएपनि मजदुरहरु दोस्रो दर्जाको नागरिकको रुपमा बाँच्नु पर्ने अवस्था रहेको गुनासो गरे । मजदुरहरुको ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरन्जन गर्न पाउनुपर्ने अधिकार सुनिश्चित गरिनु पर्नेमा उनको जोड थियो । श्रम ऐन कार्यान्वयन नभएको अवस्थामा अब निर्वाचित स्थानीय सरकारले मजदुरहरुको सामाजिक सुरक्षा, पारिवारिक सुरक्षा, श्रम ऐन कार्यान्वयनको बिषयमा ध्यान दिनु पर्ने उनले बताए ।
नेकपा माओवादी केन्द्र प्रदेश १ का सदस्य तथा पूर्व मजदुर नेता अरुण श्रेष्ठले यो गठबन्धन उखानेहरुको बिरुद्ध मजदुरहरुको हक हितका लागि निर्माण भएकाले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आग्रह गरे ।

नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति खगेन्द्र मैनालीले मजदुरहरुको हक अधिकारका लागि लडिरहेका मजदुरको कार्यक्रममा नेपाली काँग्रेसको ऐक्यबद्धता रहेको बताए ।
अखिल नेपाल ट्रेड युनियन महासंघ झापाका संयोजक सीता सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सजेश शिवाकोटी, अर्जुन कार्की, कृष्ण ढुंगेल, सन्तोष उप्रेती , दिवाकर प्रसाईं, रमेश चौधरीसहित सयौ मजदुरहरुको उपस्थिति रहेको थियो ।

त्यसैगरी साना निर्माणकर्मी संघ जिल्ला समिति झापाले पनि १३३ औं अन्तर्राष्ट्रिय मजदुर दिवस मनाएको छ ।संघका अध्यक्ष केदार राजवंशीको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि ट्रेड युनियन कांग्रेसका जिल्ला उपाध्यक्ष गंगाराम ओडारी रहेका थिए । कार्यक्रममा संघका निरेन राजवंशी , प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशीलगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन कृष्ण भट्टराईले गरेका थिए ।

यसैबीच नेकपा एमालेका केन्द्रीय सदस्य रविन कोइरालाले मेचीनगरको मुहार फेर्न पनि पुरानो विरासत फर्काउन जरुरी रहेको बताएका छन् ।

आइतबार काँकरभिट्टामा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मेचीनगरले आयोजना गरेको १३३ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा कोइरालाले यस्तो बताएका हुन् ।
२०५४ सालमा स्थापना भएको मेचीनगर नगरपालिकामा पहिलो मेयरका रुपमा उनै कोइराला थिए । नेता कोइराला नगरप्रमुखका रुपमा एमालेबाट निर्वाचित भएका थिए ।

एमाले झापाका सहइन्चार्ज समेत रहेका नेता कोइरालाले त्यो पुरोना विरासत फर्काउन पनि यसपटक एमालेबाट सक्षम र इमानदार नेतालाई जिताउन जनता लाग्नुपर्नेमा जोड दिए । उनले मजदुरको हितमा काम गर्न राज्यका सबै अंगहरुको आँखा खुलोस् भन्ने शुभकामना व्यक्त गरे ।

कार्यक्रममा एमालेबाट मेयरका उम्मेद्वार गोपालचन्द्र बुढाथोकीले राज्यले मजदुरलाई गरिरहेको विभेद अन्त्य गर्नु पर्ने बताए । उपमेयरकी उम्मेद्वार मिना उप्रेतीले नगरमा अलपत्र रहेका अधुरा कामहरु पुरा गर्न बाँकी रहेको बताइन्् ।

कार्यक्रममा एमाले केन्द्रीय सल्लाहकार सदस्यद्वय विष्णु प्रसाई, भीम खवास, प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, क्षेत्र नम्बर १ का कार्यबाहक अध्यक्ष टिकाराम मंग्राती, नगर अध्यक्ष राजु पोखरेल, ६ नम्बर वडाका वडाध्यक्षका उम्मेद्वार बालकृष्ण थापा, मजदुर नेताहरु भरत राई, एकराज तिम्सिना, खडानन्द भण्डारीलगायतको उपस्थिति रहेको थियो ।
जिफन्टका नगर अध्यक्ष राजकुमार सुवेदीको अध्यक्षता र सचिव गणेश चौहानको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्