झापा , वैशाख २८ । स्थानीय तह निर्वाचनको सम्मुखमा मोरङको दुर्गम मिक्लाजुङ गाउँपालिकामा बुधबार राति शक्तिशाली विष्फोट भएको छ ।

बम विष्फोट गराइएको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीका अनुसार विष्फोट गराइएको स्थानको पहिचान हुन बाँकी छ । मिक्लाजुङ-१ को सरस्वती आधारभूत विद्यालयका शिक्षक मदन श्रेष्ठका अनुसार राति ११ देखि १२ बजेको बीचमा विष्फोटको ठूलो आवाज आएको थियो । ‘रातको समयमा कहाँ विष्फोट गराइएको हो भन्ने यकिन भइसकेको छैन,’ उनले भने, ‘विष्फोटको घटनापछि स्थानीय त्रसित बनेका छन् । ’ यसैबीच मिक्लाजुङ-१ बर्खेमा बिहीबार बिहान बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ। विद्यालयबाट लगभग ५० मिटर दूरीको सडकमा प्रेसर कुकर फेला परेको हो। खतरा भनेर लेखिएको र तारहरु बाहिर निकालेर सडकमा छाडिएको अवस्थामा प्रेसर कुकर भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार कुकर भेटिएको सडकमा दुईवटा बाँस पनि तेस्र्याइएको छ । शंकास्पद वस्तु भेटिएको जानकारी आउनसाथ नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेर प्रहरीले घटनास्थललाई सुरक्षित राखेको श्रेष्ठले बताए । अहिले सेनाको टोली घटनास्थलतर्फ जाँदै छ । सडकमा शंकास्पद तरिकाले राखिएको प्रेसर कुकर देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन्। प्रहरीका अनुसार उक्त वस्तु भेटिएको स्थान मिक्लाजुङको रमितेबाट लगभग १२ किलोमिटर पूर्वतर्फ पर्छ । उक्त स्थान उर्लाबारीबाट भने ३२ किलोमिटर उत्तरमा पर्छ । ‘बर्खे भन्ने स्थानमा राति विष्फोट गराइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ प्रहरी स्रोतले भन्यो, ‘त्यही ठाउँ आसपासमा भोलिपल्ट बिहान बमजस्तो देखिने प्रेसर कुकर भेटिएको छ ।’ प्रहरीले निर्वाचन विरोधी समूहले विष्फोट गराएको र सडकमा शंकास्पद वस्तु राखेको हुनसक्ने अनुमान गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्