भद्रपुर, असार ६ । जिल्ला समन्वय समिति झापाको लापरवाहीले विद्यालय भवन निर्माणमा अवरोध आएको ठहरसहित भद्रपुर ३ स्थित अरनिको माध्यमिक विद्यालय परिवारले धर्ना दिँदै विरोधसभा गरेको छ ।

२०६७ सालबाट तत्कालीन जिविस रहँदै भवन निर्माण प्रकृया थालिएको विद्यालय भवन एक दशक पार गर्दा समेत निर्माण सम्पन्न हुन नसकेपछि अलपत्र भवनमै कष्टकर पठनपाठनको पीडा खप्न नसरेर विद्यार्थी, अभिभावकलगायत शिक्षक ,कर्मचारीले जिल्ला समन्वय समिति झापामा विरोधस्वरूप धर्ना दिएका हुन् ।

भारतीय दूतावासको सहयोगमा निर्माणाधीन भद्रपुर ३ स्थित सूर्यनगरमा रहेको अरनिको माध्यमिक विद्यालयको भवन वर्षौयता अलपत्र अवस्थामा छाडेर निर्माण कम्पनीको ठेकेदार बेपत्ता भएका छन् । अधुरो विद्यालय भवनमै पठनपाठन भइरहँदा भवन निर्माण पूरा गराउने दायित्व समेत नलिएको स्थानीय जिम्मेवार निकाय जिल्ला समन्वय समितिलाई अलपत्र भवनले गिज्याइरहेको छ ।

अधुरो विद्यालय भवनमा पठनपाठनका लागि अनुकूल वातावरण बन्न नसक्दा समस्या भइरहेको अध्ययनरत छात्रछात्रा दुखेसो पोख्ने गर्दछन् । भवन नबन्ने निश्चित भएपछि कष्ट सहेर पढिरहेका विद्यार्थी, अभिभावक तथा शिक्षक कर्मचारीले जिल्ला समन्वय समिति, शिक्षा विकास तथा समन्वय इकाईलगायत जिम्मेवार निकायमा धर्ना दिँदै समस्या समाधानका लागि दवाव दिएका हुन् ।
साविक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका ३ सूर्यनगरस्थित विद्यालयको अलपत्र अवस्थामा छाडिएकै भवनमा विद्यार्थी वर्षौंदेखि जोखिम मोल्दै पठनपाठन गर्न बाध्य छन् । ३२ कोठे दुईतले विद्यालय भवन अधुरो छाडेर निर्माण कम्पनीका ठेकेदार सम्पर्कविहीन बनेको वर्षौ भयो । तत्कालीन जिल्ला विकास समितिको मातहतमा निर्माण थालनी भएको भवन निर्माणको स्वामित्व स्थानीय सरकारसित आए पनि स्वामित्व पाएको भनिएको भद्रपुर नगरपालिका प्रकृया नमिलेपछि बेखवरजस्तै बन्दा एक दशकयता सुविधायुक्त कक्षा कोठामा पठनपाठन गर्न पाउने अधिकारबाट बञ्चित हुनुपरेको सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले गुनासो पोख्ने गरेका छन् । भवन नबनेकाले कक्षा कोठामा बिजुली बत्ती, पंखा जडान हुन सकेको छैन । खानेपानी र शौचालयको समस्या पनि त्यस्तै छ । विद्यालयको गेटसँगै वरिपरि घेराबारा नहुँदा विद्यार्थी र शिक्षक दुवै असुरक्षित महसुस गर्न बाध्य छन् ।

विस २०२४ सालमा स्थापना भएको अरनिको माविको भवन स्तरोन्नतिका लागि भारत सरकार तथा भारतीय राजदूतावासले चार करोड २१ लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए । २०६७ सालमा ३ करोड ८६ लाखमा राजधानी कन्स्ट्रक्सन काठमाडौंका सुवास लामाले भवन निर्माणको लागि ठेक्का लिएर करिव चार वर्षपछि अर्थात् २०७१ साल चैतदेखि भवन निर्माणको काम सुरु गरेको विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम खरेलले जानकारी दिए । प्रधानाध्यापक खरेलले भने, ‘ठेकेदारले भवन निर्माण कार्यमा सुरुदेखि नै ढिलासुस्ती गरेकै हो, भवन निर्माण पूरा नभएपछि झ्याल, ढोका नभएकै कक्षा कोठामै सर्न बाध्य भयौँ।’ भवन निर्माणको विषयमा पटकपटक तत्कालीन जिल्ला विकास समितिलाई जानकारी गराउँदा समेत कुनै सुनुवाई नभएको उनको भनाइ छ । जिविस खारेज भएर स्थानीय तहमा अधिकार प्रत्यायोजन भएपछि पनि पटकपटक स्थानीय सरकारलाई गुहार्दा समेत सुनुवाइ नहुँदा अलपत्र भवनमा पठनपाठन गर्नुपर्ने बाध्यता रहेको गुनासो प्रअ खरेलको छ ।

ठेकेदारले विद्यालय भवन अलपत्र छाडेर भागेपछि पठनपाठनमा समस्या उत्पन्न भएको अध्ययनरत विद्यार्थीको गुनासो छ । उनीहरूका अनुसार ‘ विद्यालयभित्र पढ्न साह्रै समस्या छ, कक्षा कोठामा झ्याल ढोका छैनन्, बर्खामा पानी पस्छ, गर्मीमा बस्न सकिँदैन ।’ सुरक्षित विद्यालय भवनबाट पठनपाठन गर्न पाउने अधिकारविहीन हुनुपरेको विद्यार्थीहरूको दुखेसो छ ।अघिल्लो नगर नेतृत्वले समस्या हलमा चासो नदिएपछि यस पटक विजयी नेतृत्वसित विद्यालय बनाइदिने आशा पालेको विद्यालय प्रशासनले समस्या हल हुने संकेत नपाएपछि माथिल्लो कार्यालय घेराउ गर्न बाध्य भएको दुखेसो छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्