नेपालीहरुको ठूलो पर्व दशै तिहार र छठ पर्व सकिएको छ । दशै आयो भन्दै गर्दा मन प्रफुल्ल कसको नहोला र ? दशै आउँदैछ भन्दै गर्दा सबैको मनमा खुसी थियो । व्यापारीहरुका लागि दशैमा व्यापार अवश्य राम्रो हुन्छ भन्ने आशा थियो । कर्मचारीलाई दशैको बोनसको आशा थियो । कतिले छोराछोरी यो दशैमा घर आउँदैछ भन्ने आशमा बाआमाको पर्खाई थियोे होला । त कतिको दाजुभाइ आफन्तसंगको भेटघाट हुने आशमा पनि दशैको उल्लास थियो होला । कतिको यो दशैमा पहिलोे भेटघाट हुँदै थियो होला । कति जोडीको पहिलो पटक ससुराली जानुपर्ने थियो होला जे जस्तो भए पनि दशैको रौनक हामी नेपालीलाई अत्यन्त हुने गर्दछ । हाम्रो संस्कृतिले हामीलाई जोडेको छ । ठुलाबाट आशिर्वाद लिन भएपनि वा धर्म सस्कृति र परम्परा मान्न भएपनि हामी बर्षमा एक पटक सबै परिवार भेला हुने गर्दछौ । विभिन्न पर्वले विभिन्न धर्म समुदायलाई बाँधेको छ ।

आश गरेको दशै ,तिहार र छठ पर्व पनि सिद्धियो । कसैको के कसैको के आशा थियो होला कतिको पुरा भयो होला त कतिको भएन होला तथापि, यो सबै आशमा एक पटक भए पनि वर्षमा गाउँ त जान पाइन्छ वा गइन्छ भन्नेमा मनै फुरु¨ त कसो भएन होला र ! ओहो दाजु तपाई कहिले आउनु भयो ? भाइ तिमी कुन देश पो छौ ? कतिमा पढन थालेउ हउ ? ए यो भाइ बहिनी त यति ठुला भै सकेछन् ! ओल्लो घर पल्लो घर सबैतिर यी यस्तै प्रश्नहरु सुनिएका थिए हैन त ? वर्षभरी काम काम भन्दै गर्दा दशैमा आफ्नो गाउँघर आउँदा मनै खुसी हुन्छ भन्ने सायदै कोही छैनौं होला ! शहरको बसाईले गर्दा धानबाट चामल बन्छ , दुध गाईभैसीले दिन्छ भन्ने हेक्का अव आउने शहरीया पुस्ताले नजान्ने भैसके । दुई दशकदेखि काठमाण्डौमा बस्दै आएका दाजुले मलाई सुनाउँदै हुनुहुन्थ्यो – दिपेन म काठमाण्डौमा जहिलै विहान विहान मर्निङवाकमा एउटा गाईगोठसम्म पुग्छु अनि त्यहाँसम्म पुगेर फर्कने मेरो दैनिकी छ । कुनै कुनै दिन मसंग मेरो छोरी पनि जाने गर्छिन् तर छोरी त्यो गाईगोठसम्म जान मान्दिनन् किन कि गाईको गोवर उनीलाई गन्हाउँछ अरे ! तर , म त्यही गाईको गोवर मेरो लागि बास्नाझै हुन्छ ,त्यही गोवरको गन्ध लिन भनेर म त्यहाँसम्म हरेक दिन विहान मर्निङवाकमा जाने गर्छु । हामी आज जति नै शहरीया भए पनि हाम्रो मानसपटलमा गाउँको वासना अजम्वरी छ ।

हिजो लाग्थ्यो कि मलाई शहरमा गएर बस्न पाए हुन्थ्यो भन्ने सपना थियो । एउटा राम्रो घर होस् शहरमा भन्ने थियो । तर आज यो शहरमा मलाई कोलाहल लाग्छ । उकुसमुकुस भएको भान हुन्छ । यो मेरो मात्र भान हैन होला भन्ने लाग्छ । म हुर्केको गाउँ , म खेलेको गाउँ , म पढेको स्कुल मेरो गाउँको खोला नाला यी सबै मेरो मानसपटलमा खेलिरहन्छ । मेरो मात्र हैन हामी धेरैको मानसपटलमा मेरो गाउँ मेरो ठाउँ भन्ने हेक्का रहन्छ नै होला । म पनि संझन्छु काठमाण्डौ पढ्न बस्दा दशैमा घर आउँदा कयौ पटक नाईट बसमा मुढामा बसेर आएँ भने कति पटक बसको बनोटमा बसेर आउँदा पनि थकान हुँदैन थियो । गाउँ जान पाउँदा मनै फुरु¨ कसको नहोला र !

दशैमा घर जान दिन गनेर बसिन्थ्यो । क्यालेन्डरको पाना पल्टाएर धेरै हेरिन्थ्यो । साथीभाइ भेला भएर गाउँ संगै जाने सल्लाह हुन्थ्यो । गाउँभरि सबै साथीभाइहरु जो जता भएपनि दशैमा सबै साथीभाई गाउँमा भेला हुँदा कयौ समय साथीभाइ गफिँदा यति प्रफुल्लित हुन्थ्यौं नि । गाउँमा जाँदा , गाउँ घुम्दा वा आफ्नो खेतबारीमा जाँदा मनै प्रफुल्लित कसको नहोला र ? गोठमा भएको गाईको दुध आगोमा धेरैबेर लगाएर कुढे डढिन्जेल तताएर खाँदा । बारीमा फलेका सागपात खाँदा पनि मैले कति स्वस्थ्य खाना खाँदैछु भन्ने लाग्छ । त्यो गाउँघरमा भएको आत्मीयता मेलापात गर्दा पर्मपात गरेको क्षण दुःखसुखमा सबैको साथ सहयोग ,साह्रो गाह्रोमा गाउँभरिको मानिसको साथले पनि गाउँको माया अपार नै छ । मर्दामा मलामी र पर्दामा जन्ती गाउँमा नै हुने गर्छन् । शहरमा त मलामी र जन्ती भाडामा नै खोज्नु पर्ने अवस्था बन्न सक्छ । गाउँघरको त्यो आत्मीयता कहाँ शहरमा पाईन्छ र ।

तिहारमा देउसी खेल्दाको क्षण देउसिरे देउसिरे भेनेर भट्याएको क्षण जति नै शहरीया भए पनि बालापनमा फर्कन मन लागिहाल्छ । तिहारमा आमाले सेलरोटी पकाउँदा वरीपरि बसेर हेर्दा कतिखेर रोटी खाउँ भन्ने मनमा लागेको सम्झना आईरहन्छ । साथीभाइ भेला भएर देउसिरे खेलेको सम्झना , देउसीबाट उठेको पैसा सबैलाई बाँडेको र भट्याउनेलाई अलि बढी दिएको सायदै कसैले भुलेको छैन होला ।यी बालापनको सम्झनाले पनि गाउँको याद अत्यन्तै हुने गर्दछ ।
एउटै घरमा बस्दा पनि एक आपसमा चिनजान नहुने शहरको प्रचलन भैसक्यो । शहरको बसाई एक्लोपन जस्तो हुने रहेछ भन्ने भैसकेको छ । अरुको मतलव छैन , आफ्नै मात्र ध्याउन्न हुने यो शहरको बसाई गाँस ,बास र कपासकै जोहोमा वित्ने गर्दछ ।

चार्डपर्व त सकियो तर अहिले गाउँमा चुनाव लागेको छ । पाँच वर्षमा गाउँमा देखा नपरेका मानिसहरु पनि यो चुनावमा गाउँगाउँमा हजुर हामीलाई भोट दिनुस् भन्दै गाउँ घुमिरहेका छन् । गाउँको विकास गर्छु भन्दै घरघरमा नेताहरु हिडे तापनि हामी सचेत रहन जरुरी रहेको छ । असक्षम उम्मेदवारलाई भोट दिएर पाँच वर्ष पश्चाताप गर्नुभन्दा आजै सचेत रहौं । आफ्ना, आफन्तभन्दा पनि राम्रालाई भोट दिऔं । जो गाउँमा बस्छ , सुखदुःखमा साथ दिन्छ उनैलाई विजय गराऔंं । जन्मेको गाउँ,हुर्केको ठाउँ हामी जो जहाँ भए पनि नभुलौं । जति नै सुखसयलमा बसेपनि जति नै शहरीया भएपनि , देश विदेश जहाँ भएपनि हामीलाई गाउँको सम्झनाले सताउँछ नै होला । गाउँको ती दिन , दुःखसुखका क्षण, गाउँका साथीभाइ , खोलानाला, पाटीपौवा , गाउँको सम्झना कसलाई पो नहोला दशैमा सबै जना गाउँघरमा भेला भएकोे देख्दा !

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्