बिर्तामोड, चैत २ । झापा प्रहरीले लागूऔषधसहित नक्कली नेपाली र अस्ट्रेलियन नोटका दुुई कारोबारीलाई पक्राउ गरेको छ ।

लागूऔषधको कारोबार गरिरहेको गोप्य सूचनाको आधारमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बुधवार बेलुका साढे ५ बजे बिर्तामोड नगरपालिका– ४ मेघावारी निवासी २४ वर्षीय सुवास ताजपुरियाको कोठामा छापा मारेको थियो ।

प्रहरीले ताजपुरियाको कोठाबाट प्रतिबन्धित लागूऔषध र नक्कली नोट बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र रिजालले जानकारी दिए । प्रहरीले उनको कोठाबाट लागूऔषध ब्राउनसुगर ४ ग्राम ३९० मिलिग्राम , २८ पिस नाइट्राजेपाम ट्याब्लेट, एक हजार दरको ६० थान, पाँच सयको दुई थान नक्कली नेपाली नोट, तीन थान नक्कली अस्ट्रेलियन नोट, तीन हजार सक्कली नेपाली नोट, अन्य देशको ११ थान नोट, चार थान मोबाइल र मे ५ प ९७९७ नम्बरको एउटा मोटरसाइकल बरामद गरेको डीएसपी रिजालले जानकारी दिए ।

उक्त सामानसहित ताजपुरिया र उनका भाइ १९ वर्षीय प्रवीण ताजपुरियालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्