झापा, चैत १३ ।गत चैत ५ गते झापाको कचनकवल –६ बनियानीस्थित गोल्डेन फ्युचर स्कुलका प्रिन्सिपल युवराज काफ्लेले विद्यालयमा अध्ययनरत तीन जना विद्यार्थीलाई फलामको डन्डीले पिटेको घटना सार्वजनिक भयो ।

पिटाइ खाएका आफ्ना छोराहरु बेलुकासम्म घर नफर्किएपछि सोही दिन विद्यार्थीका अभिभावकहरुले प्रहरी चौकी बनियानीमा काफ्लेविरुद्ध निवेदन दिए । प्रहरी चौकीले छलफल त बोलायो तर, मिलाउन सकेन । सोही घटनालाई जिल्ला प्रहरी कार्यालय झापाले चैत ९ गते मिलापत्र गरायो । अबदेखि कुनै पनि विद्यार्थीलाई नकुट्ने कागज गरेर माफी माग्दै प्रिन्सिपल काफ्लेले उन्मुक्ति पाए । कानुनी प्रक्रियामा नगई सामाजिक रुपमा प्रहरीले बालहिंसाको घटनालाई मिलापत्र गराएर कसुरदारलाई उन्मुक्ति दिलायो ।
बालबालिका सम्बन्धी ऐन, २०७५ को परिच्छेद –८ को (घ) मा घर, विद्यालय वा जुनसुकै स्थानमा शारीरिक वा मानसिक दण्ड दिने वा अमर्यादित व्यवहार गर्ने, परिच्छेद–८ कै (ङ) मा शारीरिक चोटपटक वा असर पुर्याउने, आतंकित पार्ने वा धम्क्याउने, तिरस्कार, उपेक्षा, भेदभाव, बहिष्कार वा घृणा गर्ने, एक्ल्याउने वा मानसिक पीडा दिनेलाई बालहिंसाको रुपमा परिभाषित गर्दै अवस्था अनुसारको सजाय र जरिवाना तोकिएको छ ।(क) दफा ६६ को उपदफा (२) को खण्ड (क), (ख), (ग), (घ), (ङ), (च) वा (द) वा दफा ७८ को उपदफा (१) वा (२) बमोजिमको कुनै कार्य गरेमा पचास हजार रूपैयाँसम्म जरिवाना र एक वर्षसम्म कैद, (ख) दफा ६६ को उपदफा (२) को खण्ड (छ), (ञ), (ट), (ठ), (ड), (ण) वा (थ) वा उपदफा (३) को खण्ड (क), (ख), (ग), (ङ), (च) वा (ञ) बमोजिमको कुनै कार्य गरेमा पचहत्तर हजार रूपैयाँसम्म जरिवाना र तीन वर्षसम्म कैद सजाय तोकिएको छ ।

तर, प्रहरीले यसअघिका घटनाजस्तै ती कानुनी व्यवस्थालाई बेवास्ता गर्दै कसुरदार काफ्लेलाई माफी मगाउँदै मिलापत्र गरायो । बालबालिकामाथि हुने गरेका हिंसाका घटनामा प्रहरी संवेदनशील नदेखिने गरेको बाल अधिकारकर्मीहरु बताउँछन् । छुट्टै महिला तथा बालबालिका सेल हुने गरेको प्रहरी कार्यालयमा प्रहरीहरु कानूनी प्रक्रियामा नगई जहिल्यै सामाजिक उपाय खोज्नु न्यायोचित नभएको उनीहरुको भनाई छ । सोही घटनामा प्रहरीले पीडकलाई कानुनी सजाय दिलाएर पीडित पक्षलाई न्यायको अनुभूति दिलाउनु पर्नेमा सोझासिधा अभिभावकहरूलाई विभिन्न बहानामा मिलापत्रमा हस्ताक्षर गर्न लगाएर बालहिंसाको मुद्दालाई कानुनभन्दा बाहिर राखेकोमा उनीहरुले प्रहरीको कार्यशैलीप्रति असन्तुष्टी व्यक्त गरेका छन् । आईतबार बनियानीमा बाल अधिकारप्रति सरोकार राख्नेहरूले पीडित बालक र तिनका अभिभावकहरुलाई भेटेर घटनाको बारेमा जानकारी लिएका छन् ।

यसरी बालहिंसा गर्दा पनि कार्वाही भोग्नु नपरेपछि प्रिन्सिपल काफ्लेको मनोवल बढेको पाइएको छ । उनले सामाजिक सञ्जालमा पिटाइ खाने विद्यार्थी , तिनका अभिभावक, सहयोगी र संचारमाध्यमलाई धम्की दिन थालेका छन् । प्रिन्सिपल काफ्लेले गोल्डेन फ्युचर स्कुलको फेसबुक पेजमा पोस्ट गरी धम्की दिएका हुन् । उनका पक्षधरहरुले विद्यार्थीहरुलाई पिटेर काफ्लेले राम्रो काम गरेको भनेर उक्साउन खोजेका छन् । उनका फेसबुक फ्रेन्ड सन्तोष काफ्लेले गलत गर्ने विद्यार्थीलाई २–४ लठ्ठी हान्दा गलत हुँदैन भनेर कसुरदारलाई अझ उक्साउन खोजेका हुन् ।

बालबालिकालाई पिटने अधिकार कसैलाई पनि नभएको बालअधिकारकर्मी सरोज पौडेल बताउँछन् । उनी भन्छन् ‘ यदि ती बालकहरु गलत नै भएको भए सुधार केन्द्रमा लानु पर्थ्यो तर, त्यसरी पिट्न पाइदैन ।’ उनले यसरी यातना दिने कतिपयहरु जेल सजाय भोगिरहेको घटना स्मरण गराए । पीडित बालकका अभिभावकहरुले प्रिन्सिपल काफ्लेले अबदेखि कुनै पनि विद्यार्थीलाई नपिट्ने भनेर माफी मागेपछि आफूहरुले मिलापत्र गरेको बताए । उनीहरुले गल्ती महसुस गरी माफी मागिसकेकाले फेरि विवाद नझिक्न आग्रह गरेका छन् ।

गत चैत ५ गते प्रिन्सिपल काफ्लेले विद्यालयमा अध्ययनरत तीन जना विद्यार्थीहरुलाई गलत गतिविधि गरेको भनेर सजायस्वरुप पिटेर विद्यालय निकाला गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्