झापा, चैत १६ । ६ दशकपछि घरेलु टोली विराटनगर सिटी (बीसीएफ) ले सातौं संस्करणको विराट गोल्डकपको उपाधि जितेको छ ।

सहिद रंगशालामा आज राति सम्पन्न रात्रिकालिन गोल्डकपको फाइनलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लबलाई ४–० गोलले हराउँदै विराटनगरले उपाधि उचालेको हो ।
२०१८ सालको महेन्द्र गोल्डकपको पहिलो संस्करणमा तत्कालीन आयोजक मोरङ ११ उपविजेता र एलेभेन ज्वेल्स कोलकाता विजेता बनेका थिए । २०१९ सालमा आयोजक मोरङ ११ ले उपाधि जित्दा कोलकाता उपविजेता भएको थियो ।

घरेलु भूमिमा विराटनगरले पाहुना टोलीलाई निराश बनाउँदै सातौं संस्करणको विराट गोल्डकप उपाधि जित्न ६ दशक कुर्नुपर्याे ।
विराटनगर सिटीले उपाधिसँगै नगद २० लाख १५ हजार रुपैयाँ हात पारेको छ । उपबिजेता केरलाले १० लाख १५ हजारमा चित्त बुझायो ।

जितमा विराटनगर सिटीका अफिज ओलावा, बिमल घर्तीमगर, मेसुके र अभिषेक गुरूङले गोल गरेका थिए । खेलको सातौं मिनेटमा विराटनगर सिटीका अफिज ओलावाले गोल गरी टिमलाई सुरुवाती अग्रता दिलाए । बिमल घर्ती मगरले निकालेको लामो पासलाई अफिज ओलावाले गोलमा परिणत गरी टिमलाई अग्रता दिलाए ।

७८ औं मिनेटमा बिमल घर्तिमगरले पेनाल्टी एरियाबाट गोल गरी दोब्बर बनाए । सुजिकीले निकालेको क्रसपासलाई बिमलले गोलमा परिणत गरेका थिए । खेलको ८९ औं मिनेटमा मेसुकेले गोल गरी तेब्बर अग्रता बनाए । इन्जुरी समयमा विराटनगर सिटीका अभिषेक गुरुङले गोल गरी टिमको जित सुनिश्चित गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्