एजेन्सी । मध्य अफगानिस्तानमा भारी वर्षासँगै आएको बाढीमा परी ६ जनाको मृत्यु भएको छ भने एक सय घर ध्वस्त भएका छन् साथै दर्जनौँ घर डुबानमा परेका छन् ।
स्थानीय अधिकारीहरूका अनुसार हेरातबाट दुई सय ८० किलोमिटर पूर्वमा रहेको प्रान्तीय राजधानी फिरोजकोहमा घर भत्कँदा तीन महिला र एक बालकको मृत्यु भएको छ । मङ्गलबार परेको मुसलधारे पानी आफूले एक दशक यता कहिल्यै अनुभव नगरेको घोर प्रान्तका तालिबान गभर्नरका प्रवक्ता अब्दुल वाहिद हमासले बताएका छन् । पहाडबाट वेगका साथ आएको बाढीले हेरात प्रान्तको पासाबन्द जिल्लामा एक पुरुष र एक महिलालाई बगाएको र उनीहरूको शव पछि फेला पारिएको सुरक्षा अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार हेरात प्रान्तका एक सयभन्दा बढी घर ध्वस्त भएका छन् भने दुईसय हेक्टर खेतीयोग्य जमिन नष्ट भएको छ ।
कृषि कार्यका निम्ति निर्मित सिँचाइ प्रणाली र नहरहरू पनि क्षतिग्रस्त भएको छन् । सन् २०२१ मा अमेरिका समर्थित सरकारको पतनसँगै तालिबान सत्तामा फर्किएपछि अफगानिस्तानमा मानवीय सङ्कट गहिरिँदै गएको छ । प्राकृतिक विपत्तिको चपेटमा पनि युद्धले तहसनहस भएको यही मुलुक परेको छ । तालिबान सत्तामा आएपछि बाह्य सहायता प्रवाह शून्यप्रायः भएको छ भने विदेशी राष्ट्रले पनि काबुलका नयाँ शासकसँग व्यवहार गर्न अनिच्छा देखाएका छन् । गैरसरकारी संस्था र संयुक्त राष्ट्र सङ्घीय निकायमा अफगान महिलाहरूलाई काम गर्न तालिबानले प्रतिबन्ध लगाएर आय आर्जनका सीमित मार्गबाट समेत महिलालाई वञ्चित गरेको छ ।