बिर्तामोड, जेठ १३ । शैक्षिक सामग्रीको अभावमा बालबालिकाहरु विद्यालय जान नसक्ने अबस्था नआओस् भनेर बिर्तामोड नगरपालिका ३ नं वडा कार्यालयले साक्षरता तथा जनचेतना अभियान संचालन गरेको छ ।

विपन्न वर्ग र पछि परेका समुदायका बालबालिकाहरुलाई लक्षित गरी सो अभियान संचालन गरिएको हो । अभियानअन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत ६० जना बालबालिकालाई किताब बोक्ने झोला, कपि र पेन्सिल वितरण गरिएको छ ।

विगत तीन दिनदेखि संचालित अभियानअन्तर्गत पहिलो दिन मुसहरवस्तीका २० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको थियो । बिर्तामोड ३ नं वडा कार्यालयको संयोजनमा सिम्रिक साकोस, इक्यान झापा, मनरमा हिमालय हेन्डिक्राफ्ट प्रा.लि र लाइफ केयर वाटरको सहयोगमा उक्त सामग्री वितरण गरिएको हो । त्यस्तै दोस्रो दिन बिराटपोखरी दक्षिण सुकुम्वासी बस्तीका २० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको थियो भने शनिवार करेलाबारी टोलका २० जना बालबालिकाले शैक्षिक सामग्री पाएका छन् ।

शैक्षिक सामग्रीको अभावमा विद्यालय नजाने कठिनाई देखेर संघसंस्थाको सहयोगमा उनीहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकीले जानकारी दिए । उनले आआफ्ना बालबालिकालाई विद्यालय पठाउन अभिभावकहरुलाई आग्रह गरेका छन् ।
शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा वडा सदस्य हरि बाँस्कोटा , सिम्रिक साकोसका अध्यक्ष सुवास भट्टराई , कार्यकारी प्रमुख कमलबहादुर बस्नेत ,इक्यान झापाका अध्यक्ष मिलन ओली , निवर्तमान अध्यक्ष सुमनशर्मा जमरकट्टेल, मनरमा हिमालय हेन्डिक्राफ्ट प्रा.लिका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, लाइफ केयरका सञ्चालक ओमप्रकाश महत्तो , मिडिया पार्टनर प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशीलगायतले साक्षरता तथा जनचेतना अभियानको आवश्यकता र निरन्तरताका बारेमा जोड दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्