झापा, भदौ २० । एसिया कप क्रिकेटमा हिजो भएको रोमाञ्चक खेलमा अफगानिस्तानलाई २ रनले हराउँदै श्रीलंका सुपर फोरमा पुगेको छ ।


समूह ‘बी’ बाट अपराजित रहँदै श्रीलंका सुपर फोरमा पुगेको हो । हारसँगै अफगानिस्तान बाहिरिएको छ ।
जितको लागि २ सय ९२ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ३७ ओभर ४ बलमा २ सय ८९ रनमा अलआउट भयो ।

यो लक्ष्य अफगानिस्तानले ३७ ओभर १ बलमा पुरा गरेको भए सुपर फोरमा पुग्ने थियो । त्यस्तै नियम अनुसार बाँकी तीन बलमा एक छक्का हान्न सकेमा पनि अफगानिस्तान सुपर फोरमा पुग्न सक्ने अवस्था थियो ।
तर दोस्रो र तेस्रो बल डट भयो । चौथो बलमा फारुकी एलबीडब्लू आउट भएपछि श्रीलंका विजयी भयो । त्यसअघि मुजिब उर रहमान आउट भएपछि अफगानिस्तान दबाबमा परेको थियो ।

अफगानिस्तानका मोहम्मद नाबीले सर्वाधिक ६५ रन बनाएपनि त्यो जितका लागि पर्याप्त हुन सकेन । श्रीलंकाका कसुन रजिथाले ४ विकेट लिए । दुनिथ वेलालेगे र धनन्जय डि सिल्भाले समान दुई विकेट लिए ।
त्यसअघि लाहोरमा टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९१ रन बनाएको थियो ।
श्रीलंकाका कुशल मेन्डिसले सर्वाधिक ९२ रन बनाए । अफगानिस्तानका गुलबदीन नाइबले ४ विकेट लिए । राशिद खानले २ विकेट लिए ।

समूह ‘ए’ बाट पाकिस्तान शीर्ष र भारत दोस्रो स्थानमा रहँदै सुपर फोरमा पुगिसकेका छन् । समूह ‘बी’ बाट श्रीलंका शीर्ष र बंगलादेश दोस्रो स्थानमा रहँदै सुपर फोरमा पुगे । सुपर फोरका खेल आजदेखि सुरु हुँदैछन् । आज हुने खेलमा बंगलादेश र पाकिस्तान प्रतिष्पर्धा गर्दैछन् ।
यो खेल लाहोरमा नेपाली समय अनुसार दिउँसो सवा ३ बजेदेखि शुरु हुनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्