भद्रपुर, पुष १२ । संस्थागत विद्यालय शिक्षक युनियन भद्रपुर नगर समितिले प्याब्सन, एन. प्याब्सनको नाममा संस्थागत विद्यालय सञ्चालन गर्ने निर्णयको प्रतिवाद गर्ने भएको छ ।


नगर अध्यक्ष विदुर ढुंगाना तथा सचिव रमेश भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइए अनुसार राज्यको नियमविपरित शुक्रवार १ बजेपछि संस्थागत विद्यालय विदा नगरिए बहिष्कार गरेर विद्यालय छोड्ने निर्णय गरिएको हो । राज्यको नीति नियमभन्दा शक्तिशाली निकाय बन्न खोज्दै प्याब्सन,एन.प्याब्सनको आडमा आगामी दिनमा यस्ता गतिविधि संस्थागत विद्यालयहरूले बढाउँदै लगे कानुनी उपचारमा जानेसमेत निर्णय भएको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ—विभिन्न बहाना बनाएर संस्थागत विद्यालयहरूले संगठित रूपमा सार्वजनिक विदा अतिक्रमण गर्ने, सरकारले तोकेको पारिश्रमिक नदिने, आधा दिनको विदा मिचेर पूरै दिन काम लगाउने, हरेक वर्ष विद्यार्थीको अध्ययन शुल्क बढाउँदै जाने तर शिक्षक कर्मचारीको पारिश्रमिक बढाउन नमान्ने कार्यको संरक्षण प्याब्सन, एन.प्याब्सनले गर्ने गरेको कार्यशैलीप्रति आपत्ति प्रकट गर्दछौं ।’

यस्तै प्याब्सन, एन.प्याब्सनसित संस्थागत विद्यालय शिक्षक युनियनले गरेको सहमतिविपरित संस्थागत विद्यालयहरूले शिक्षक कर्मचारीमाथि शोषण गरिरहेको भन्दै अविलम्ब नरोके कडा प्रतिकारमा जाने समेत चेतावनी दिइएको छ ।
भद्रपुरमा रहेका ३१ वटा संस्थागत विद्यालयहरूमध्ये अधिकांश विद्यालयले प्याब्सन, एन. प्याब्सनको निर्णय भन्दै सार्वजनिक विदा अतिक्रमण गर्ने, तोकिएको न्यूनतम पारिश्रमिक नदिने, राज्यको नीति नियमविपरित गतिविधि अगाडि बढाउने काम गरे पनि नियामक रमिते भइरहेको संस्थागत विद्यालय शिक्षक युनियनले आरोप लगाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्