दमक, फागुन ४ । लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायहरुको अधिकारका क्षेत्रमा वकालत गर्दै आएको संस्था लिड नेपालले दमकमा सरोकारवालाहरुसंग समन्वयात्मक छलफल गरेको छ ।

कार्यक्रममा लिड नेपाल दमककी कार्यक्रम संयोजक नुमा लिम्बू (चन्चला)ले संस्थाले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायहरुको अधिकारका क्षेत्रमा गरिरहेका कार्यक्रमका बारेमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् । उनले संस्थाको सवलीकरणसंगै लक्षित समुदायको अधिकार तथा उनीहरुमा हुन सक्ने एचआइभी संक्रमणको जोखिम न्यूनीकरणका लागि सञ्चालित इपेक नेपालको परियोजनाका सन्दर्भमा समेत कार्यपत्र प्रस्तुत गरिन् । त्यस्तै, उनले पहिचानमै समस्या हुँदा आफूहरुले अझै पनि हिंसा र दुव्र्यवहारको शिकार बन्न बाध्य हुनु परेको गुनासो सुनाइन् ।

कार्यक्रममा इपेक नेपाल परियोजनाकी कोशी प्रदेश को–अर्डिनेटर सलिना जोशीले परियोजनासहित एचआइभी एड्स रोकथाम , उपचार, सचेतना तथा सञ्चालित कार्यक्रमका सन्दर्भमा छुट्टै कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

अन्तरक्रियासहितको बैठकमा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले सामाजिक विभेदका रुपमा रहेका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई समाजमा पुनस्र्थापना गराउन स्थानीय सरकारले सहयोग पुर्याउँदै आएको बताईन् । लिड नेपाललाई संस्थागत हितमा उपयोग हुने गरी चाँडै कार्यालय व्यवस्थापनका लागि जग्गा उपलव्ध गराउने उनले प्रतिबद्धता जनाईन् । उनका अनुसार यी समुदायलाई स्वरोजगार बनाउन नगरपालिकाले व्यूटिपार्लर तालिम दिई थप प्रोत्साहनका लागि यो वर्ष आफनो कोषसहितबाट करिव २ लाख ५० हजार रुपैयाँ खर्च गरिएको छ ।

कार्यक्रममा लिड नेपालमा आवद्ध सनम श्रेष्ठले यो समुदायको भएकै कारण आफूले सामाजिक , पारिवारिक समस्या भोग्नु परेको पीडाहरु सुनाएका थिए । उनले लैङ्गिक तथा अल्पसंख्यकको अधिकारको क्षेत्रमा बोले पनि व्यवहारमा नागरिकता लिनेदेखि वैवाहिक समानता र शिक्षा पाउने जस्ता विषयमा विभेद सहदै आएको उल्लेख गरे ।

कार्यक्रममा दमक नगरपालिकाकी सामाजिक विकास समितिकी संयोजक तथा कार्यपालिका सदस्य शारदा भट्टराई, सामाजिक विकास शाखाका अधिकृत केशव प्रसाई,स्वास्थ्य कार्यालय झापाका विरेन्द्र दास, दमक नगरपालिका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र भट्टराई, दमक अस्पतालका डा.रोशनकुमार साह, कमल गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक दिपक दाहाल, सामाजिक अगुवा खगेन्द्र भट्टराईलगायतले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायहरुको विषयमा आ–आफना विचार राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्