बिर्तामोड, चैत २८ । नेपाली कांग्रेस बिर्तामोड ५ नम्बर वडा समितिले १० जना ब्यक्तित्वहरुलाई सम्मान गरेको छ ।

वडा समितिद्वारा नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय बिर्तामोडमा आयोजित नयाँ बर्ष २०८१ को अवसरमा शुभकामना आदान–प्रदान, भित्तेपात्रो विमोचन एवं सम्मान कार्यक्रमका बीच सञ्चार, शिक्षा, राजनीति, समाजसेवालगायत क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका १० जनालाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा रेजिना गौतम, देवीप्रसाद तिम्सिना, यसोदा ओली, गणेशप्रसाद सिटौला, चन्द्र कट्टेल, खड्गप्रसाद सिटौला, डिल्ली प्रसाई, विष्णुबहादुर राई (मुन्ना) पवित्रा तामाङ र चन्द्रबहादुर सापकोटा रहेका छन् । सञ्चार क्षेत्रबाट सामाजिक रुपान्तरण एवं राजनीतिक परिवर्तनमा महत्वपूर्ण भुमिका खेलेको भन्दै बिर्तामोडबाट प्रकाशित जनआन्दोलन डट.कम का सम्पादक एवं नारी सञ्चार गृहका अध्यक्षसमेत रहेकी गौतमलाई सम्मान गरिएको हो ।

वडा समितिले लामो समयसम्म राजनीतिमा सक्रिय एवं राजनीतिमा लागेकै कारण पीडित बन्नुपरेका अग्रज राजनीतिकर्मी तथा शिक्षा र सामाजिक सेवामा महत्वपूर्ण योगदान पु¥याएको भन्दै विभिन्न क्षेत्रका अग्रज महानुभावलाई सम्मान गरेको हो ।
उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । नेता थेवेले इलाम–२ नम्बर क्षेत्रको निर्वाचन परिचालनमा आ–आफ्नो तर्फबाट भूमिका खेल्न आह्वान गरे । इलाम–२ का उम्मेद्वार डम्बर खड्का ४० बर्ष अघिदेखि विद्यार्थी राजनीतिमा प्रवेश गरेर नेपाली कांग्रेसका गतिविधिमा क्रियाशील रहेको बताउँदै सभापति थेवेले सामाजिक क्षेत्रमा उनको महत्वपूर्ण भूमिका रहेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेश समिति सदस्य मिरा खड्का, महासमिति सदस्यहरु जलकुमार गुरुङ , सीता पौडेल, नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाई, नेपाली कांग्रेस बिर्तामोड नगर सभापति भोजराज सिटौलालगायतले मन्तब्य राखेका थिए । वडा सभापति दिपक मेनेङ्बोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपसभापति सुष्मा पौडेल र सञ्चालन उपसभापति खगेन्द्र प्रसाई तथा सचिव राजेश नेपालले संयुक्त रुपमा गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्