लक्ष्मी उप्रेती,

मेचीनगर । हात्तीपाइले रोग विरुद्धको औषधि प्रत्येक मानिसले सेवन नगर्नु र यसका विषयमा हुने अनर्गल प्रचार नै हात्तीपाईले रोग अन्त्यको मुख्यः समस्या भएको सरोकारवालाहरुले बताएका छन् ।

मंगलवार ‘मेचीनगर नगरपालिकाको आह्वान, हात्तीपाईले रोगमुक्त नगर हाम्रो अभियान’ भन्ने मुख्य नारासहित हात्तीपाईले रोगविरुद्धको आम औषधि सेवन कार्यक्रम २०८०÷०८१ नगरपालिका स्तरीय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठीका क्रमका यसका विज्ञहरुले प्रत्येक नागरिकले औषधि नखाइदिनु नै हात्तीपाईले रोग निवारणको ठूलो चुनौती बनेको धारणा राखेका थिए । पछिल्लो समय वैदेशिक रोजगारका लागि मलेसिया पुगेका नेपाली कामदारको त्यहाँ रगत परीक्षण गर्दा हात्तीपाईले रोगको ब्राक्रोप्टी नामको परजीवि फेला परेपछि अहिले उनीहरु नेपाल फर्कन थालेका छन् । जसले हात्तीपाईले रोगको निवारणमा झन चुनौती र जोखिम थपिएको हात्तीपाईले रोगका फोकल पर्सन डाक्टर सञ्जिव यादवले जानकारी दिए ।

मेचीनगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा निरौलाका अनुसार मेचीनगरका विभिन्न वडाका तीनजना यस्ता व्यक्ति फर्किएर आएका छन् । वडा नम्बर १२ र १३ का दुईजनामा यो परजीवि फेला परेपछि उनीहरु मलेसियाबाट नेपाल फर्केका हुन् । यीमध्ये एकजना स्वास्थ्यकर्मीको सम्पर्कमा पुगेको र औषधि सेवन शुरु गरेको निरौलाले जानकारी दिइन् । वैदेशिक रोजगारका लागि मलेसिया पुगेका अर्का एकजना वडा नम्बर ३ का व्यक्तिमा पनि परजीवि फेला परेको छ । यही बैशाख १६ गतेबाट हात्तीपाईले रोग विरुद्धको औषधि सेवन अभियान शुरु हँुदैछ ।

मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले कार्यालयको सभाकक्षमा आयोजना गरेको कार्यक्रममा नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, नगरका जनप्रतिनिधिहरु, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, विभिन्न क्षेत्रका अगुवासहित सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख प्रतिनिधिहरुबीचको गोष्ठीमा हात्तीपाईले रोग बिरुद्घको औषधि आफूले पनि सेवन गर्ने प्रतिवद्घता व्यक्त गर्दै आम नगरवासीलाई समेत सेवन गर्न स्थानीयलाई आग्रह गरिएको छ । नगर प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले हात्तीपाईले रोग बिरुद्घको औषधि आफूले पनि सेवन गर्ने प्रतिवद्घता व्यक्त गर्दै आम नगरवासीलाई समेत सेवन गर्न आग्रह गरेका छन् । गत वर्ष मेचीनगरमा ८१ प्रतिशतलाई यो औषधि सेवन गराईएको शाखा संयोजक निरौलाले जानकारी दिइन् । यो अभियानमा नगरका १ लाख ३३ हजार ९० जनालाई यो औषधि खुवाउने नगरपालिकाको स्वास्थ्य शाखाले लक्ष्य लिएको छ ।

हात्तीपाईले रोगलाई हाम्रो समुदायबाट हटाउनका लागि यो औषधि सेवन गर्नुबाहेक अर्काे विकल्प नरहेको र यी औषधिहरु पूर्णरुपमा सुरक्षित र औषधिहरुको कुनै पनि जटिल प्रकारका असर नदेखिने हुँदा प्रत्येक नगरवासीलाई ढुक्क भएर औषधि सेवन गर्न स्वास्थ्य कार्यालय झापाका कार्यालय प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत रमेश बाराकोटीले आग्रह गरे
यो औषधि सेवन गरी आफू र समुदायलाई सुरक्षित गर्न सवै प्रतिबद्घ रहनु पर्ने बताउँदै उनले हरेक वडावासीले सेवन गरेको औषधिले आफूलाई मात्र नभएर आफू र आफ्नो परिवार र छिमेकका मानिसलाई सुरक्षित राख्ने बताए । औषधि नखाइदिनु नै हात्तीपाइले रोग निवारणको ठूलो चूनौती रहेको भन्दैं उनले सरकारले हात्तीपाईले रोग निवारणका लागि यस रोग विरुद्घको औषधि खुवाउने अभियान सञ्चालन गरेपनि सर्वसाधारणले औषधि नखाइदिनु सवैभन्दा ठुलो चूनौती भएको स्पष्ट पारे ।
सम्भ्रान्त र हुनेखाने परिवारका सदस्यले नै यो औषधि नखाइदिँदा रोग निवारणमा चुनौती छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक वर्ष हात्तीपाईले रोग विरुद्घको औषधि खुवाउने अभियान सञ्चालन गर्दै आएको छ । ‘औषधि खुवाउने अभियान स्वास्थ्कर्मी र स्वय्मसेवक परिचालन गरेर मात्र लक्ष्य पुरा नहँुदो रहेछ ’स्वास्थ्य शाखा संयोजक निरौलाले भनिन् —‘सरकारले प्रत्येक वर्ष अभियान सञ्चालन गरेपनि हात्तीपाईले रोग विरुद्घको औषधि सेवन गर्नुहुदैंन भन्ने गलत धारणाका कारण निकै समस्या भएको र अभियान सफल हुन सकेन ।’ जनचेतना र प्रचार प्रसारको अभावका कारणभन्दा पनि गलत धारणाका कारण धेरैजसो पढेलेखेका र शिक्षित वर्गले नै यो औषधि नखाइदिने शाखा संयोजक निरौलाको भनाई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्