झापा, बैशाख ५ । समुदायलाई हस्तान्तरण नगर्दै झापामा जडान गरिएका अफसेट सोलार फेन्स ( विद्युतीय सौर्य तारबार) ठाउँ ठाउँमा भत्किसकेका थिए । जंगली हात्तीलाई छेक्न उत्तम उपायको रुपमा रहेको सोलार अफसेट फेन्स अब समुदायलाई हस्तान्तरण गरिसकेपछि यसको संचालन र मर्मत संभारको विषय थप चुनौतीको रुपमा देखिएको छ ।

मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले झापामा हालसम्म ७६.३९ किलोमिटर अफसेट सोलार फेन्स जडान गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको रेखदेखमा जडान गरिएको अफसेट सोलार फेन्सको जिम्मा पालिकाअन्तर्गतका सामुदायिक वन उपभोक्ता समूहलाई प्रदान गरिएको छ ।

डिभिजन वन कार्यालय झापाले मंगलबार एक कार्यक्रमकाबीच भद्रपुर, कचनकवल, हल्दिबारी, बाह्रदशी र मेचीनगरमा रहेका २७ वटा सामुदायिक वन उपभोक्ता समूहलाई सोलार अफसेट फेन्सको फारम हस्तान्तरण गरेको हो । राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरदचन्द्र अधिकारीले सोलार फेन्सको फारम डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईलाई हस्तान्तरण गरेका थिए । त्यसपछि डिभिजन वन कार्यालयले सम्बन्धित सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीलाई फारम हस्तान्तरण गरेको थियो ।

प्रकृति संरक्षण कोषले १० करोड ४० लाख ६६ हजार रुपैयाँको लागतमा मेचीनगरको तिरिङदेखि नकलबन्दासम्म १८ किलोमिटर, चारकोशे जलथल जंगलको रणकालीदेखि विशाल सामुदायिक वनसम्म पहिलो चरणमा ३५ किलोमिटर, दोस्रो चरणमा विशालदेखि काली मन्दिर सामुदायिक वनसम्म ६ किलोमिटर र चारआली जंगलको काली मन्दिरदेखि सैनिक ब्यारेकसम्म १७ किलोमिटर सोलार फेन्स जडान गरेको हो । निर्माण सम्पन्न भएर वन समूहको जिम्मामा आएका सोलार फेन्सको सुरक्षा गर्न वन समूहको सक्रियता जरुरी देखिएको छ । त्योसंगै मर्मत तथा सञ्चालनको प्राविधिक जिम्मेवारीमा कठिनाई हुने कुरा वन उपभोक्ता समूहका सदस्यहरुले महसुस गरिसकेका छन् । यसअघि नै जडान गरिएका सोलार फेन्सको मर्मत सम्भार, रेखदेख र व्यवस्थापनमा चुनौती देखा परेको थियो । जसका कारण मानव–हात्ती द्वन्द्व रोकिएको छैन । जडान गरिएका सोलार फेन्सले काम गर्न छाडेपछि जंगलबाट निस्किएका हात्तीले मानव बस्ती पसेर मानवीय र भौतिक क्षति गर्दै आएका छन् । हस्तान्तरण कार्यक्रममा सहभागी सामुदायिक वनका पदाधिकारीहरूले सोलार फेन्स हस्तान्तरण कार्यक्रम ढिला भएकोले जनधनको क्षति रोकथाम तथा न्यूनीकरणमा समस्या उत्पन्न भएको दावी गरे । उनीहरुका अनुसार सामुदायिक वनलाई फारम हस्तान्तरण गरेर समस्याको समाधान हुँदैन ।

दियालो सामुदायिक वन उपभोक्ता समूह भद्रपुरका अध्यक्ष देउकुमार लिम्बूले सामुदायिक वनले सहजीकरण मात्र गर्ने हो भन्दै यसको मर्मत सम्भारका लागि आवश्यक बजेट र प्राविधिक टोली सरकारले नै उपलब्ध गराउनु पर्ने बताए । त्यस्तै हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले सामुदायिक वनलाई सोलार फेन्स जिम्मा लगाएर पन्छाउने काम गर्न नहुने बताए ।

सामुदायिक वनका पदाधिकारीहरूलाई सोलार फेन्सको बारेमा प्राविधिक ज्ञान छैन । ‘उनीहरूले आफ्नो वन क्षेत्रमा जडान गरिएको सोलार फेन्समा झारजंगल हटाउने, कहाँबाट तार चुँडाएर हात्ती गाउँघर पस्यो त्यो हेर्न बाहेक अरू जाँदैनन्,’ अध्यक्ष लिङ्देनले भने, ‘उनीहरू ठोक्किने भनेकै पालिकामा हो, पालिकाले पनि एक्लै केही गर्न सक्दैन, त्यसैले मानव हात्ती द्वन्द्व न्यूनीकरणका लागि डिभिजन वन र प्रकृति संरक्षण कोषको पनि साथ र सहयोग चाहिन्छ ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्