झापा,चैत २४। सुनसरीमा दुई समुदायबिचको झडप नियन्त्रणका लागि लगाइएको कर्फ्यु जारी छ । शुक्रबार हरिनगरस्थित भुटाहाबाट चर्केको हिन्दु–मुस्लिमबिचको झडपले दक्षिणी भेगको शान्ति सुरक्षामा खलल पुगेपछि लगाइएको कर्फ्युलाई शनिबार पनि निरन्तरता दिइएको हो ।

सदरमुकाम इनरुवा र हरिनगर गाउँपालिकासहित ५ वटा स्थानीय तहमा लगाइएको कर्फ्युलाई निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालयका कायममुकायम प्रमुख जिल्ला अधिकारी देवराज फुयाँलले जानकारी दिए ।

स्थानीय प्रशासनले अवाञ्छित र उच्छृङ्खल गतिविधि हुन नदिनका लागि सम्भावित झडप हुने ठाउँमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । कर्फ्यु जारी भए पश्चात् जनजीवनमा सामान्य बन्दै गएको पनि कायममुकायम प्रमुख जिल्ला अधिकारी फुयाँलले बताए ।

जिल्ला प्रशासन कार्यालयले सम्बन्धित सबै पक्षलाई संयमता अपनाउन आग्रह पनि गरेको छ । घटनाबारे अनुसन्धान गरी कारबाही, सुरक्षा र समस्या समाधानका लागि संवादलाई पनि अघि बढाइएको कायममुकायम प्रमुख जिल्ला अधिकारी फुयाँलले बताए । सो समस्या समाधानका लागि सर्वदलीय बैठक समेत बोलाइएको छ ।

यसैबिच सुनसरी प्रहरीले हिन्दु युवा कुटपिटमा संलग्न उपरको जाहेरीका आधारमा केही मुस्लिम युवालाई पक्राउ गरिएको र अन्यको खोजी जारी रहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख विपिन रेग्मीले अघिल्लो दिनको दाँजोमा अवस्था सामान्य बन्दै गएको बताए । यद्यपि, सुरक्षा संवेदनशीलतालाई ख्यालमा राखी बाक्लो सुरक्षा तैनाथी मिलाइएको उनले बताए । एसपी रेग्मीले कर्फ्यु उल्लङ्घन गर्न खोज्नेलाई पक्राउ गरिरेको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्